आजको दिन भने नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाउने गरिन्छ

आज देखि स्वन्ति नखः अर्थात् तिहार प्रारम्भ तर कागपूजा भने भोलि

 

काठमाडौं, ५ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार पर्वलाई काठमाडौं उपत्यकामा नेवार समुदायले स्वन्ति नखः भन्ने गर्छन । यस तिहार पर्वलाई बत्ती र फूलको तिहार पनि भन्ने गरिन्छ । यसै स्वन्ति नखः वीच नेपाल सम्बत्को नयाँ बर्ष प्रारम्भ हुने र नेवार समुदायको म्हपूजा पनि पदर्छ ।

यसपाली पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार काग तिहार भने भोलि परेको छ ।

आजको दिन भने नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँउने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ ।

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ । आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।

स्वन्ति नखः, दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । धन्वन्तरि जयन्ती पनि आइतबार नै मनाइन्छ ।