प्रचण्डलगाएत गठबन्धनका १२ उम्मेदवारमाथि आचार संहिता उल्लंघनबारे थप अनुसन्धान गर्न आयाेगकाे निर्देशन

काठमाडौं, १५ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगाएत १२ जना उम्मेदवारमाथि आचार संहिता उल्लंघन गरेकाे विषयमा निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगकाे सोमबार बसेको बैठकले उम्मेदवारहरुसँग लिएकाे प्रष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिएको हो।

आयोगका अनुसार अध्यक्ष प्रचण्डले मनोनयनको दिन बाजा बजाएको भन्दै आयोगले प्रष्टिकरण सोधेको थियो। जवाफमा दाहालले त्यसलाई अस्वीकार गर्दै आफ्नो निर्देशनमा बाजा नबजेको बताएका थिए।

निर्वाचन आयोगले त्यसमाथि थप अनुसन्धान गर्न गोरखा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियाे। दाहालले गोरखा २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।

त्यस्तै निर्वाचन आयोगले कैलाली ४ गठबन्धनका उम्मेदवार बनेका वीरबहादुर बलायरसहित उम्मेदवारहरु दीर्घबहादुर सोडारी, लक्षिराम आचार्य, बद्री मैनाली,विरोध खतिवडा, इन्द्र बानियाँ, मेटमणी चौधरी, उमाकान्त चौधरी, सीके राउत, दुर्लभ थापा र ऐनबहादुर महरमाथि पनि थप अनुसन्धान गर्न निर्देशन दिएको छ। उनीहरु सबैसँग आयोगले प्रष्टिकरण सोधेको छ।