लुम्बिनीमा कठिन उत्सव सम्पन्न

रूपन्देही, २० कात्तिक । वर्षावासमा बस्नुभएका भिक्षुलाई कठिन चिवर दान गरी लुम्बिनीमा कठिन उत्सव शनिबार सम्पन्न भएको छ ।

बौद्ध परम्पराअनुसार कठिन उत्सवमा भिक्षुहरू तीन महिना वर्षावासमा बसेर निस्किएपछि गरिने कठिन दानका लागि लुम्बिनीमा दुईदिने कठिन उत्सवको आयोजना गरिएको हो ।

लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महिना वर्षावासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत भिक्षु सङ्घलाई कठिन चीबर दान र अष्टपरिष्कार दान गरिएको थियो । अमेरिका निवासी प्रमुख दाता दिपानी परेकाको आर्थिक सहयोग तथा राजकीय बुद्ध विहारले संयोजन गरेको पवित्र ‘कठिन’ उत्सवअन्तर्गत लुम्बिनीमा आयोजना गरिएको विषेश धार्मिक समारोहका बीच भिक्षु सङ्घलाई कठिन चीवर दान गरिएको हो ।

उत्सवमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसाला रुवाल विराकुनले दोस्रोपटक राजीकय बुद्ध विहारमा आयोजित कठिन उत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले दुर्लभ मनुष्यको जीवनलाई सही सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । मनको चेतना कहिलेकाहीँ अत्तालिए पनि सतकर्ममै मन लगाउनुपर्ने उहाँको भनाइ छ ।

कठिन उत्सवमा धर्मदेशना दिँदै भिक्षु निपुन्नले बुद्ध परम्पराअनुसार गरिने कठिन उत्सवले मनको समता राख्न बल पुग्नुका साथै जीवनमा जोखिम नआउने र सम्पत्तिको सुरक्षा हुने बताउनुभयो । कुशल कर्मको फल कुशलनै प्राप्त हुने उहाँको भनाइ छ ।

कठिन उत्सवका प्रमुख दाता अमेरिका निवासी दिपानी परेराले बुद्ध जन्मभूमिमा आएर कठिन दान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले कठिन चिवर दानको महत्वबारे जानकारी गराउँदै दाताको सहयोगबाटै भिक्षुको जीवन चल्ने बताउनुभयो । बौद्धकालीन संस्कृति र परम्परा जोगाउन पनि यस्ता खालका उत्सव आयोजना गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

लुम्बिनीका स्थानीयवासीलाई बौद्ध संस्कृतिबारे जानकारी गराउन राजकीय बुद्ध विहारमा विगत पाँच वर्षदेखि कठिन उत्सव आयोजना गरिदै आएको बौद्ध महिला समितिका उपाध्यक्ष टीका कटेलले बताउनुभयो ।

कठिन उत्सवमा दाता दिपानी परेरा, नेपाल प्रहरी विशेष सुरक्षा दल गण बुटवलका प्रमुख रामेश्वर कार्की, सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनीका प्रमुख हिरा बोहोरा, समाजसेवी गोमा गुरुङ र वर्षावासका संयोजक माया भुसाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमअघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । कठिन उत्सवअन्तर्गत शुक्रबार राजकीय बुद्ध विहारमा भिक्षु सङ्घबाट परित्राण पाठ तथा बुद्धपूजा सम्पन्न गरिएको बौद्ध महिला समितिका अध्यक्ष विष्णुकुमारी बस्यालले जानकारी दिनुभयो । कठिन उत्सवमा नेपालका विभिन्न जिल्लासहित विदेशी मुलुकका बौद्ध उपासक उपासिकाको सहभागिता थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *