पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिइन्न: प्रमुख निर्वाचन आयुक्त
झापा, २० कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पुनः मतदान गर्न नपर्ने गरि भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताउनुभएको छ ।
झापामा निर्वाचन आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनैपनि मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुनबमोजिम कारबाही गरिने तर सोही कारण पुनः मतदान हुन नदिनेमा आयोग रहको बताउनुभयाे ।
कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
कुनै पनि मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अप्ठ्याराे परिस्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयाे ।
निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमार्फत प्रशारण हुनसक्ने मित्थ्या सूचना, दुस्प्रचार र घृणाष्पद अभिव्यक्ति रोक्नसमेत आयोग लागि परेको बताउँदै प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिनुभयो।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजको उपस्थिती रहेकाे थियाे ।
