युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं, २८ कात्तिक । यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ७ चौका प्रहार गरे । यस्तै मुहमद वासिमले ४४ रन बनाउँदा भ्रित्य अरभिन्दले ४० रनको योगदान गरे । यूएईका लागि एलिशन शाराफुले २९ रनको योगदान गर्दा बसिल हामिदले १४ जोडे । नेपालका गुलशन झाले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।

नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।