निर्वाचन बहिष्कार समूहमाथि सरकारकाे उच्च निगरानी, १ सय १५ जना पक्राउ

काठमाडौं, २९ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ ।

देशका विभिन्न स्थानबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारी गरेका १ सय १५ जना पक्राउ परेकाे नेपाल प्रहरीले जनाएकाे छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रहरीकाे तयारी छ ।

नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् ।

निर्वाचन बहिष्कारमा २० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेका तर चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको बताए ।

चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलको भनाइ छ । उनले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *