प्रारम्भिक मतगणनामा कसको कुन स्थान ?

काठमाडौं, ५ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम जारी छ । आज दिनभरि प्राप्त प्रारम्भिक नतिजा देशैभरि फरक देखिएको छ ।
अहिले देखिएको यो ट्रेण्डले अन्तिम नतिजाबारे अहिल्यै अनुमान गर्न मुस्किल हुने संकेत देखाएको छ । आज साँझसम्म प्राप्त नतिजा अनुसार देशभरिमा नेपाली कांग्रेसले मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभा (१) मा जित हासिल गरिसकेको छ भने अन्य १६ क्षेत्रमा अग्रस्थानमा रहेको छ । एमाले १३ क्षेत्रमा अगाडि छ । रवि लामिछानेको घन्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा अगाडि छ ।

काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंहलाई उछिन्दै राप्रपाका रवीन्द्र मिश्र अगाडि गएको छ । यहाँ मिश्रले २४१७ मत पाउँदा सिंहले २३०२ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा एमालेका किरण पौडेलले १४४० मत प्राप्त गर्नुभएको छ भने चौथोमा रास्वपाका पुकार बलमे १३६५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै काठमाडौं क्षेत्र नं। २ मा माओवादी केन्द्रकी ओनसरी घर्ती र रास्वपाकी सोविता गौतम २४÷२४ मत ल्याई बराबरी अवस्थामा रहेको छ भने एमालेका मणिराम फुयाल १९ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेललाई झिनो मतले उछिनी कांग्रेसका प्रदीप पौडेल अग्रस्थानमा आउनुभएको छ । त्यहाँ रास्वपाका प्रणय शम्शेर राणा तेस्रो स्थानमा छ ।

काठमाडौं ७ मा एमालेका श्याम घिमिरे ९५० मतका साथ अग्रस्थानमा रहेको छ भने रास्वपाका गणेश पराजुली ८५६ मतका साथ दोस्रो र गठबन्धकी मानुषी यमि भट्टराई ६९८ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

काठमाडौं ८ मा लौरो चिन्हबाट उठ्नुभएका सुमन साय्मि ११३७ मतका साथ अग्रस्थानमा आउनुभएको छ । त्यहाँ घन्टी चिन्ह भएका रास्वपाका विराजभक्त श्रेष्ठ १०९१ मतका साथ दोस्रो स्थानमा आउनुभएको छ भने एमालेका शिवसुन्दर वैद्य ५८७ मत लिई तेस्रो र गठबन्धनका जीवनराम श्रेष्ठ ४१७ मत लिई चौथो स्थानमा आउनुभएको छ ।
ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की १६०८ मतका साथ पुनः पहिलो स्थानमा उक्लिनुभएको छ भने एमालेका अमृत खड्काले १५१९ मत र गठबन्धनकी पम्फा भुषालले १०१० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै भक्तपुर १ मा एमालेका नवराज गेलाल ८२२ मत ल्याई पहिलो स्थानमा पुग्नुभएको छ । यहाँ कांग्रेसका भक्तबहादुर खड्का ७७६ मत ल्याई दोस्रो र नेमकिपाका प्रेम सुवाल ६८४ मत ल्याई तेस्रो स्थानमा पुग्नुभएको छ । सुवाल यहाँका निवर्तमान सांसद हुनुहुन्छ ।

डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवा ४८ मत ल्याई पहिलो स्थानमा रहनुभएको छ भने स्वतन्त्र उम्मेदवारहरु कर्णबहादुर मल्ल ४२ मतका साथ दोस्रो र सागर ढकाल १७ मतका साथ तेस्रो स्थानमा आउनुभएको छ ।

मकवानपुर १ मा भने नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना० ७८९ मत ल्याई पहिलो स्थानमा हुनुहुन्छ भने सूर्य चिन्ह लिएर उठ्नुभएका कमल थापा ३५१ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका दीपकबहादुर सिंह ५० मत ल्याई तेस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देही १ मा जनमत पार्टीका कैलाश गुरुङ ८७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने नागरिक उन्मक्ति पार्टीका धनीराम चौधरी ७४ मत लिई दोस्रो स्थानमा र घनश्याम भुषाल ४६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीकी रंजिता श्रेष्ठ चौधरी २६९ मत लिई पहिलो स्थानमा हुनुहुन्छ भने गठबन्धनका रामजनम चौधरी १६० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

चितवन २ मा रास्वपाका रवि लामिछाने ३३ मत ल्याई तेस्रो स्थानमा रहनुभएको छ । त्यहाँ एमालेका कृष्णभक्त पोखरेल पहिलो र कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा रहनुभएको छ ।

इलाम २ मा कांग्रेसका डम्बर खड्का ४३२ मत ल्याई पहिलो स्थानमा हुनुहुन्छ भने एमालेका सुवास नेम्बाङ २७६ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा १४५० मत ल्याई पहिलो स्थानमा रहनुभएको छ । एमालेका शंकर पोखरेल ८४६ मत ल्याई दोस्रो स्थानमा रहनुभएको छ भने रास्वपाका विशाल अधिकारी २८१ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।