स्याङ्जालगाएत तीन जिल्लामा पुन: मतदान गर्न एमालेको माग

काठमाडाैं, ५ मंसिर । नेकपा एमालेलगाएतका दलले देशका विभिन्न तीन जिल्लामा धाँधली भएको आरोप लगाउँदै पुन: मतदान गर्न माग गरेको छ।

गोरखामा नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले पुन: निर्वाचन गर्न माग गरेका छन्। उनीहरूले गोरखा २ का ८ वटा मतदान केन्द्रमा धाँधली भएको र गोरखा १ का ४ केन्द्रमा सत्ता र शक्तिको आडमा अनुपस्थित र मृतकको नाममा धाँधलीगरी मत हालेको आरोप लगाएका छन्। एमालेलगाएतका दलहरूको विरोधपछि गोरखा २ मा मतगणना सुरू हुन सकेको छैन।

स्याङ्जाका एमाले सचिवसमेत रहेकी उम्मेदवार पद्मा अर्यालले आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएकी छन्। उनले स्याङ्जाका ४ बुथमा कांग्रेसले कब्जा गरेकाले निष्पक्ष चुनाव हुन नसकेको बताइन्। यहाँ नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरूङ उम्मेदवार छन्।

त्यस्तै नेकपा एमाले रूकुम पश्चिममले सात वटा मतदान केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गरेको छ। नेकपा माओवादीले फर्जी मत हालेको दाबीसहित एमालेले ती मतदान केन्द्रमा पुन: मतदानको माग गरेको हो। यहाँ माओवादीबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार छन् । एमालेले आज जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै धाँधली भएका केन्द्रमा पुन: मतदान गर्न माग गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *