रौतहटको गौरमा भीषण आगलागी, ३ जनाको जलेर मृत्यु

रौतहट, ८ मंसिर । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन जना जलेर घाइते भएका छन्।

आगलागीमा परि स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

आगलागीमा इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन्। घाइते सबैको ज्यान जोगाउन भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको हो । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ सदस्य सुतिरहेका थिए । अचानक आगलगी भएपछि बालबालिकालाई जोगाउन नसकेको पीडितको भनाइ छ । आगलगीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कपडा–डसना पसल जलेर नष्ट भएकाे छ भने सँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ।