सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे क्षेत्र सुनसरी–४ मा पुनःमतगणना गर्न माग
सुनसरी, ११ मंसिर । सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे क्षेत्र सुनसरी–४ मा पुनःमतगणना गर्न माग गरिएकाे छ ।
सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । मतगणनाका क्रममा सूचना तथा प्रविधिमन्त्री, नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले छ सय छ मत एमालेतर्फ जोडेको आरोप लगाएपछि मतगणना राेकिएकाे हाे ।
त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो ।
यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले आयोगकै मिलेमतोमा मतगणनामा धाँधली गरेको बताउनुभएको छ ।
आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ ।
उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ ।
