दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्णय

काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने भएकाे छ ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

आयोगको सोमबार बिहान बसेकाे बैठककाे निर्णयअनुसार मंसिर १५ लाई मतदानको मिति तोकेको छ ।

आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको हो ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।