नेप्सेमा सामान्य सुधार

काठमाडाैं, १३ मंसिर । मंगलबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १५.६१ अंक घटेर बन्द भएको नेप्से, यस दिन २.९९ अंक बढेर १९५३.३५ विन्दुमा पुगेको छ ।त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ ।

नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३४ स्टकको १८ हजार ३६ पटकको कारोबारमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको २५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ४.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। मंगलबार १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ।