वर्ल्डलिंकको सेवा लिने ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी

काठमाडौं, १४ मंसिर । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) प्रदान गरेको छ ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन प्रदान गरेको हो ।

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोकका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन् ।

बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वर्ल्डलिंकले १ लाख ग्राहक बनाएको थियो ।

त्यस्तै, वर्ल्डलिंकले क्रमशः २ लाख, ३ लाख, ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक सन् २०२० यता वर्ल्डलिंकको ग्राहक बनेका हुन् ।

सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको वर्ल्डलिंकले जनाएको छ ।

देशका सात वटै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने वर्ल्डलिंकले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिंकको छ । वर्ल्डलिंकले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत निशुल्क वाईफाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *