नवलपरासीको गैँडाकोटमा सुत्केरीलाई रु पाँच हजार भत्ता

नवलपरासी, १५ मंसिर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको हाे ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मंगलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउनुहुन्छ ।

त्यस्तै नगरपालिकाले विकट वडा मानिएका वडा नं ३ र १८ का गर्भवतीका लागि ‘नगर अस्पताल आमा घर’समेत सञ्चालन गरेको छ । आमा घरमा गर्भवतीलाई स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *