विद्यार्थीलाई गुन्द्री बुन्ने र दुनाटपरी बनाउने सीप
पाल्पा, १६ मंसिर । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने र दुनाटपरी बनाउने चलन हराउँदै गएकोले पाल्पाका एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।
कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने गरिरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।
हाललाई कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ । विद्यालयको प्राङ्गणमा तान लगाएर गरेर गुन्द्री बुन्ने, दुनाटपरी सिलाउने दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ ।
बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताउनुभयो । “नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुँदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।”
गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसीले घरमा प्रयोग गरिएतापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउनुहुन्छ ।
नेपाली भएर आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हुँदै गएको छ । अहिलेलाई कक्षा ९ का विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ ।
नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो ।
प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हुँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताउनुभयो ।
“विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्”, उहाँले भन्नुभयो ।
थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ । लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।
अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । विस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ । छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ ।