धनगढीमा आन्दोलनरत् विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

कैलाली, १६ मंसिर । धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरूले बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले निषेधाज्ञाबीच प्रदर्शन गरिरहेका दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको जानकारी दिए ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।