चितवनमा यस वर्ष वर्षे धान उत्पादनमा वृद्धि

काठमाडौं,१८ मंसिर । चितवनमा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो ।

यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उहाँका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ । आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

रोगहरूको प्रकोपमा कमी भएकाे र कृषकमा व्यवस्थापन सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उहाँका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो ।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *