दुई पूर्वप्रधानमन्त्री रहेको नेकपा समाजवादीले थ्रेसहोल्ड नकटाउने निश्चित, सिट संख्यामा आठौँ स्थान

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ १ करोड चार लाख २० हजार १ सय २५ मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) २७ लाख ८८ हजार ३ सय ५६ मतसहित पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी प्रत्ययक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा रहेको छ । उक्त दलले अहिलेसम्म २६ लाख६० हजार २ सय ४६ मत प्राप्त गरेको छ ।
निकै कमजोर मतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेस्रोमा रहेको छ । उस्ले ११ लाख ६२ हजार १ सय २४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उसैको हाराहारीमा ११ लाख २४ हजार ५ सय ४३ मत प्राप्त गरेको छ । उक्त मतसहित सो दल लोकप्रिय मतमा चौथो दल बनेको छ । लोकप्रिय मतका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ दलको हैसियतमा रहेको छ । उसले ५ लाख ८६ हजार ६ सय ३८ मत प्राप्त गरेको छ । समग्रमा पनि राप्रपा पाँचौ दलको हैसियमा रहेको छ । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल ४ लाख २० हजार ९ सय ४६ मतसहित छैटौँ दल बनेको छ । यो दलले प्रत्यक्षमा ९ सिट जितेको छ । यसरी हेर्दा यो दलले पनि कम्तीमा ११ सिट ल्याउने निश्चित छ । यसरी हेर्दा समग्रमा पनि यो दल छैटौँ दलकै हैसियतमा रहने देखिन्छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ५ सय २३ मत प्राप्त गरेको छ । यो दलले प्रत्यक्षमा एक सिट मात्रै जितेका कारण यो दल समग्रमा नवौँ दलको हैसियतमा रहने देखिन्छ । दुई जना पूर्वप्रधानमन्त्री रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अहिलेसम्म २ लाख ९४ ९४ हजार ३ सय ६२ मत मात्रै समानुपातिकतर्फ प्राप्त गरेको छ । यो अवस्था हेर्दा सो दलले थ्रेसहोल्ड कटाउने सम्भावना करिब अन्त्य भएको छ ।
यो दलले प्रत्यक्षतर्फ भने गठबन्धन बनाएर १० सिट जितेको छ । यसरी हेर्दा यो दल समग्रमा आठौँ नम्बरमा पर्ने देखिन्छ । समानुपातिकमा समाजवादीकै हाराहारीमा मत ल्याएको रेशम चौधरी नेतृत्वको दल नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ६२ मत ल्याएको छ । यो दलले तीन क्षेत्रमा विजयी हात पारेको छ । यसरी हेर्दा संसदमा ७ दलले मात्रै दलिय हैसियतको मान्यता पाउने छन् । निर्वाचनको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले ५७ सिट जितेर पहिलो दल बनेको छ भने नेकपा (एमाले) ले ४४ सिटसहित दोस्रो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जितेर तेस्रो दल बनेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक सिट र स्वतन्त्रले ५ सिट जितेका छन् ।