तरकारीका बेर्ना बेचेरै मनग्य कमाइ गर्दै पाल्पाका किसान

पाल्पा, १९ मंसिर । पाल्पाका किसान गोविन्दप्रसाद दुवाडीलाई तरकारीका बेर्ना बेच्न भ्याइनभ्याइ छ ।

उनले कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको तरकारीका बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्ने गरेकाे छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।

रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम कमाउन सकिने भएपछि उहाँले यो व्यावसायलाई २२ वर्षदेखि धान्दै आउनुभएको छ ।

करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गर्नुभएका दुवाडीले यस पटक रु दुई लाख ५० हजार बराबरको आम्दानी हुने बताउनुहुन्छ । “प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पुर्याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन”, उहाँले भन्नुभयो, “मङ्सिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।

” सानो लगानीमा रु तीनदेखि चार महिनामा लाखौँ कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउनुहुन्छ । यस पटक बीउ खरिद, मलजलसहित करिब रु ३० हजार नर्सरीमा लगानी परेको छ ।

“लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ”, उहाँले भन्नुभयो ।

उमेरले उहाँ ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उहाँको जोँश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उहाँको दिन बित्ने गरेको छ । बिना तालिम उहाँले सो व्यवसाय अगाडी बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रुपमा चिनिनुभएको छ । उहाँले समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गर्नुहुन्छ ।

दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउनुहुन्छ ।

रामपुर–५ बसपार्क बस्ने सिर्जना मरासिनीले पनि १५ वर्षदेखि बिरुवा उत्पादन गर्दै आउनुभएको छ । हरेक वर्ष काउली, बन्दा, गोलभेँडा, प्याज, लहेरबाली, काक्रालगायतका समयानुसार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गर्नुहुन्छ । एकयाममै उहाँले बिरुवा बेचेर रु एक लाख बराबरको कमाइ गर्नुहुन्छ । हालैमात्र रु ७० हजार बराबरको काउली, बन्दा, प्याज बिक्री गर्र्नुभएको छ ।

कम लगानी र मेहनतमा लाखौँ कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनलाई जोड दिएका हुन् । तरकारी उत्पादनको तुलनामा बिरुवाबाट धेरै फाइदा हुने गरेको कृषक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *