बागलुङ–बुर्तिबाङ सडक अतिक्रमण गरेर ‘हाइड्रोपावर’ निर्माण
पर्वत, २० मंसिर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गतका सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् ।
लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको हाे ।
सडकको कुनामा पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्डविपरीत काम गरेको पाइएको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्नुहुन्छ, “सम्झौताअनुसार काम गर्न चार पटकसम्म पत्रचार गर्यौँ, तर उहाँहरूले हाम्रो पत्रको कुनै जवाफ दिनुभएको छैन, हामीहरूले सम्झौताविपरीतको काम रोकेर मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौँ, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौँ, कतिपय ठाउँमा मापदण्डअनुसार भएको छ भने धेरै ठाउँमा मापदण्डअनुसार विपरीत काम भएकाे छ।”
हाइड्रोपावर प्रालिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरी मापदण्डविपरीत काम धमाधम गरिरहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यसअनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताउनुहुन्छ ।
“म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजेँ, बुझ्न बोलाए तर उहाँहरू आउनुभएन, यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ ।
सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावर प्रालिले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउनुहुन्छ । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ ।
दरमखोला हाइड्रोपावर प्रालिका प्रमुख नीरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताउनुभयो । उहाँ आफूहरूले सम्झौताविपरीत काम नगरेको दाबी गर्नुहुन्छ ।
जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडक नै जोखिममा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकमार्ग छेउमा जुन हाइड्रोपावरको पाइप बिछ्याइएको छ, यो गलत भएको छ, भोलि जतिबेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ?, त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पुर्याउनुपर्छ ।”
