बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैं, २१ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आज देखि आईपीओ निष्काशन गरेकाे छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ।

बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सोमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *