निरन्तर ओरालो लाग्यो नेप्से, १ अर्ब ६५ करोडकाे कारोबार 

नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । नेप्से गत सोमबारदेखि निरन्तर ओरालो लागेको हो ।

बुधबार नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक छ।

यस दिन २४६ स्टकको २० हजार ३१ पटक कारोबार भएर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ८६ रुपैयाँ ५३ पैसा घटेर ७७९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६७ करोड २ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन शिवम् सिमेन्ट्सको १३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको साढे ४ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।