नवलपुरमा बस दुर्घटना, १७ जना घाइते

नवलपरासी, २२ मंसिर । नवलपरासीकाे नवलपुरमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

नवलपरासीकाे पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

बागलुङबाट भैरहवाका गइरहेकाे लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ भने बसमा ३० जना सवार रहेको पाठकले बताए ।

अहिले दुर्घटना स्थलमा एकतर्फीरुपमा यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालन हुने जनाइएकाे छ ।