नेवा:हरूकाे मौलिक पर्व ‘यःमरी पुन्हि’, देशैभरका नेवार समुदायले मनाइँदै
काठमाडाैं, २२ मंसिर । नेवा:हरूकाे मौलिक पर्व ‘यःमरी पुन्हि’ आज देशैभरीका नेवार समुदायले मनाइँदै छ ।
लामो इतिहास बाेकेकाे नेवा:हरूकाे संस्कृति, परम्परा अनुसार मनाइने यस पर्वकाे आफ्नै छुट्टै महत्व छ । ‘यःमरी पुन्हि’ पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो ।
हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ ।
मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले खानाबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो ।
यस पर्वमा पूर्णिमाको दिन विशेष गरी चामलको पिठोबाट बनाइने यःमरी बनाएर खाने प्रचलन छ । यस दिन उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइने गरिन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरीलगायत चामलकाे पिठाेबाट लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति बनाएर पूजा गरी चढाउने गरिन्छ ।
धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि निकालेर प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।
यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई यःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।