कञ्चनपुरका दर्जन बढी गाउँमा टिप्दैन मोबाइल नेटवर्क

कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरकाे भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् ।

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो ।

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाउनुभएको छैन । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउनुहुन्छ । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उहाँले भन्नुभयो ।

इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताउनुभयो । उहाँले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताउनुभयो । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । “यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भन्नुभयो”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”

इच्छाकामना–१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाँउबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गर्नुभयो ।

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।” उहाँले गाँउबाट चारसय बढीको हस्ताक्षर सङ्कलन गरेरसमेत टेलिकममा बुझाइएको बताउनुभयो । नेटवर्कको समस्याका कारण स्कूलमा वाइफाइ जडान गर्न सकिएको छैन । “गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुपर्यो”, उहाँले गुनासो गर्नुभयो ।

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले कार्यालयले पनि नेटवर्क नभएको ठाँउमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाँउलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिनुभयो । उहाँले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताउनुभयो ।