संघमा तेस्रो बनेको माओवादी प्रदेश एकमा चौथो र मधेसमा पाँचौ, कर्णालीमा पनि देखिएन उत्साह

काठमाडौं, २२ मंसिर । समानुपातिक निर्वाचन प्रणाली अनुसार संघीय निर्वाचनमा ११ लाख ७५ हजार ६ सय ८४ मतसहित तेस्रो स्थानमा रहेको नेकपा माओवादी ५ प्रदेशमा तेस्रो स्थानमै रहेको छ भने प्रदेश एकमा चौथो र मधेस प्रदेशमा पाँचौ स्थानमा रहेको छ । संघमा प्राप्त गरेको भन्दा प्रदेशमा माओवादीले करीब ५० हजार मात्रै बढी प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार माओवादीले सात वटै प्रदेशबाट जम्मा १२ लाख २७ हजार २ सय ८३ मत प्राप्त गरेको छ । संघमा माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत प्राप्त गरेको थियो ।
आयोगका अनुसार प्रदेश एकमा माओवादी चौथो दल बनेको छ । माओवादीले प्रदेश एकमा १ लाख ८१ हजार २ सय ४५ मत मात्रै प्राप्त गरेको छ । उक्त प्रदेशमा एमालेले ३८ दशमलव ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले ३२ दशमलब ६१ प्रतिशत र राप्रपाले ११ प्रतिशत हाराहारी मत प्राप्त गरेको छ । नेकपा माओवादीले १० प्रतिशतकै हाराहारीमा मत प्राप्त गरेर चौथो दल बनेको हो ।
मधेस प्रदेशमा माओवादीले १ लाख ८० हजार ८ सय ६० मत प्राप्त गरेको छ । यो प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बन्दा एमाले दोस्रो र जनमत पार्टी तेस्रो बनेको छ । जनतासमाजवादी पार्टी चौथो स्थानमा छ । माओवादी पाँचौ स्थानमा छ ।
बागमती प्रदेशमा पनि माओवादी २ लाख ९० हजार ७ सय २३ मतसहित तेस्रो स्थानमा छ । एमाले ३२ दशमलब ३९ प्रतिशतसहित पहिलो दल बनेको छ । बागमती प्रदेशमा एमालेले ६ लाख ५ हजार ३ सय ५१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको राप्रपा पनि बागमतीमा माओवादी हाराहारीमै रहेको छ ।
गण्डकी प्रदेशमा माओवादी १ लाख १६ हजार ९ सय ४५ मतसहित तेस्रो स्थानमै रहेको छ । सो प्रदेशमा एमाले ३९ दशमलब १ प्रतिशतको हाराहारी मत प्राप्त गरेर पहिलो दल बनेको छ । गण्डकीमा एमालेले ३ लाख ६७ हजार ९ सय ८९ मत प्राप्त गरेको छ । कांग्रेसले ३७ दशमलब ८ र माओवादीले १२ प्रतिशतको हाराहारी मत प्राप्त गरेको छ । ८ प्रतिशतको हाराहारी मतसहित राप्रपा चौथो दल बनेको छ ।
लुम्बिनी प्रदेशमा माओवादीले १ लाख ९८ हजार ४ सय ५० मत प्राप्त गरेर यो प्रदेशमा पनि माओवादी तेस्रो दलकै रुपमा रहेको छ । लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९ सय २१ मत प्राप्त गरेको छ । माओवादी किल्लाको रुपमा परिचित कर्णाली प्रदेशमा समेत माओवादी तेस्रो नै बनेको छ । कर्णालीमा माओवादीले १ लाख ३७ हजार ६ सय २९ मत प्राप्त गरेको छ । ३२ दशमलब ७१ प्रतिशत मत प्राप्त गरेको छ । एमालेले कर्णालीमा एक लाख ८३ हजार ९ सय ५० मत एमालेले प्राप्त गरेको छ । कांग्रेसलेले यो प्रदेशमा ३० दशमलब ३६ प्रतिशत मत प्राप्त गरेको छ ।
सुदुरपश्चिममा पनि माओवादी तेस्रो हैसियतमै रहेको छ । सुदुरपश्चिममा पनि माओवादीले १ लाख २१ हजार ४ सय ३१ मत प्राप्त गरेको छ । सुदुरपश्चिममा पनि एमाले पहिलो पार्टी बनेको छ । एमालेले सुदुरपश्चिममा २ लाख ७४ हजार ६ सय ७५ मत प्राप्त गरेको छ । यो प्रदेशमा एमालेले ३२ दशमलब २३ र कांग्रेसले ३१ दशमलब ६३ प्रतिशत मत प्राप्त गरेको छ । यसरी हेर्दा माओवादी लोकप्रिय मतमा पनि प्रदेशमा कमजोर अवस्थामा देखिएको छ ।