स्थानीयको गुनासोः हामीले फोहोर वर्गिकरण गर्न छोड्यौं

कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्ने काठमाडौंका मेयरको अभियान सुरुमा धुममाध, अहिले गुमनाम

कविता घिमिरे
काठमाडौं, २३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा गत असार ३२ गते काठमाडौंका भित्री सहरमा पर्ने वडा १८, १९, २० र २४ मा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने सम्बन्धि जनचेतनामुलक कार्यक्रम धुमधामसँग भयो । मेयर साह आफैँ उक्त जनचेतनामुलक र्यालीमा सहभागी हुनुभयो ।

निकै उत्साहित भावभङ्गीसहित र्यालीमा सहभागी मेयर साहले टोलबासीलाई आफ्नै हातबाट पर्चा बाँड्नुभयो । उहाँले पर्चा मात्रै बाँड्नु भएन । मंगलबार नकुहिने अनि आइतबार र बुधबारचाँहि कुहिने फोहोर लिन छुट्टै गाडी आउने आश्वासन पनि दिनुभयो । जनचेतनामुलक र्यालीमा सहभागी भएको केही घण्टापछि आफ्नो आधिकारिक फेसबुक पेजबाट ‘फोहोर नमिसाउने अभियान, निरन्तर घरदैलो’ शीर्षक राखेर आफू घरदैलो कार्यक्रममा सहभागी भएको एक भिडियो नै सार्वजनिक गर्नुभयो । उहाँले सार्वजनिक गर्नुभएकाे उक्त भिडियो करीब ३ लाख ३० हजारले हेरेका छन् ।

उहाँले भिडियो सार्वजनिक गरेकै दिन अर्थात् असार ३२ मा सामाजिक सञ्जालबाटै अर्को एक सन्देश सार्वजनिक गर्नुभयो । ‘भोलि अर्थात साउन १ गतेबाट हामीले फोहोरको सम्बन्धमा केही फरक सुरुवात गर्दैछौँ । भोलिबाट कुहिने र नकुहिने अलअलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउँने छन्,’ उहाँले सार्वजनिक गरेको सन्देशमा लेखिएको थियो, ‘यो गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ ।’

फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको भन्दै उहाँले एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई मिसाइरहेको उल्लेख पनि सन्देशमा गर्नुभएको थियो । त्यसले फोहोरको व्यवस्थापनमा सबै भन्दा असहज अवस्था बनाइरहेको पनि उल्लेख गर्नुभएको थियो ।

त्यति मात्रै होइन उहाँले महानगरवासीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकीय जीवन भोगिरहेको समेत भाबुक तथ्य उल्लेख गर्नुभएको थियो । ‘यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो । अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलगअलग भाडोमा संकलन गरिदिनुहोला,’ उहाँले थप लेख्नुभएको थियो, ‘तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ,’ उहाँले लेख्नुभएको थियो ।

त्यतिबेलै ११ लाख बढी फलोअर्स रहेको पेजबाट उहाँले त्यो सन्देश सार्वजनिक गरेपछि धेरैले उहाँको खुलेर प्रशंसा समेत गरे । टोलवासीको पनि मुहारमा मुस्कान छायो । जनप्रतिनिधि नै आफ्नो टोलमा आएर यसरी विश्वस्त बनाएपछि र साउन १ गतेदेखि स्रोतमै कुहिने–नकुहिने फोहोरको वर्गिकरण नगरे ५ सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी भएपछि काठमाडौं वडा नम्बर १९ की राधिका श्रेष्ठले त्यहि दिनदेखि कुहिने र नकुहिने फोहोर छ्ट्टाछुट्टै भाडामा राख्न सुरु गर्नुभयो ।

श्रेष्ठले फोहोर वर्गिकरण गर्न थालेको हप्तौँ वित्दा पनि मेयर साहले भने जस्तो कुहिने र नकुहिने फोहोर फरक बार पारेर संकलन गर्न गाडी आएन । बरु उल्टै फोहोर लिन आउने गाडीमा फोहोर एकै ठाउँमा संकलन गर्न थालेपछि उहाँले फोहोर वर्गिकरण गर्नको कुनै औचित्य नदेखेको र पुनः पहिलेको अवस्थामा फोहोर संकलन गर्न सुरु गर्नुभयो ।

श्रेष्ठले फोहोर वर्गिकरण गर्न थालेको हप्तौँ वित्दा पनि मेयर साहले भने जस्तो कुहिने र नकुहिने फोहोर फरक बार पारेर संकलन गर्न गाडी आएन । बरु उल्टै फोहोर लिन आउने गाडीमा फोहोर एकै ठाउँमा संकलन गर्न थालेपछि उहाँले फोहोर वर्गिकरण गर्नको कुनै औचित्य नदेखेको र पुनः पहिलेको अवस्थामा फोहोर संकलन गर्न सुरु गर्नुभयो ।

‘काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट लागु गर्नेगरी कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गिकरण गर्नुपर्ने र नगरे जरिवाना तिराउने सूचना थाहा पाएसँगै मैले फोहोर वर्गिकरण सुरु गरेको थिए,’ उहाँले भन्नुभयो, ‘तर फोहोर संकलन गर्न आउने गाडीले सबै फोहाेर एकै ठाउँमा संकलन गरेपछि मैलै फोहोर वर्गिकरण गर्न छोडे ।’ कुहिने र नकुहिने फोहोर फरक फरक दिन संकलन गर्न आउने बताएपनि सो अनुरुप काम नभएपछि आफूले पनि फोहोरको वर्गिकरण गर्न छोडेको उहाँको भनाई छ ।

वडा नम्बर १९ का रमेश कोइरालाको कथा पनि श्रेष्ठसँग मिल्दो छ । काठमाडौं महानगरले भने अनुसार फोहोर वर्गिकरण गरे पनि बार छुटयाएर फोहोर संकलन नभएपछि यथावत रुपमै फोहोर फाल्ने गरेको कोेइराला बताउनुहुन्छ । ‘वर्गिकरण गरेको फोहोर बार छुट्याएर लिन नआएपछि पहिला झै सबै फोहोर मिसाएर नै फाल्ने गरेको छु’ उहाँले भन्नुभयो,’ ‘सुरुका केही समय कुहिने र नकुहिने फोहोर लेखेको गाडी आयो । तर, गाडीवालाले सबै फोहोर एकै ठाउँमा हाल्न लगाएपछि फोहोरको वर्गिकरण गर्न छाडिदिएँ ।’

लामो समयदेखि कामपा वडा नम्बर २० मा व्यवसाय गर्दै आउनु भएका कोइरालाले कामपाको फोहोर संकलन गर्न आउने गाडी विहानको समयमा मात्र आउने भएकाले आफूले फोहोर व्यवस्थापन गर्न नपाएको गुनासो गर्नुभयो । ‘म जस्ता व्यापारीले बिहान १० बजेपछि मात्र पसल खोल्छौं, तर कामपाको फोहोर संकलन गर्ने गाडी बिहान ६ बजे नै आउँछ, जसले गर्दा फोहोर फाल्न समस्या हुने गरेको छ, समय नमिलेपछि कसरी फोहोर फाल्नु ? यो मेरो मात्र समस्या होईन, म जस्ता व्यापार व्यवसाय गरेर बस्ने सबैको साझा समस्या हो, के हामीले फोहोर फाल्न नपाउँनु ?,’उहाँले प्रति प्रश्न गर्नु भयो ।

श्रेष्ठ र कोइराला त उदाहरण मात्र हुन् । कामपा भित्र प्रायः सबै मानिसले महानगरको सूचना अनुरुप फोहोर वर्गिकरण गरेपनि एउटै गाडी र एकै दिन मात्र फोहोर संकलन हुन थालेपछि सबै नगरवासीले फोहोर वर्गिकरण गर्न छोडेका छन ।

वृत्तचित्रको लगानी बालुवामा पानी
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गिकरण र संकलन गर्ने उदेश्यसहित लाखौ खर्च गरेर मह जोडी र धुर्मस सुन्तली फाउण्डेसनको सहकार्यमा वृत्तचित्र समेत बनाएको थियो । तर, सोँच अनुसार काम नभएपछि कामपाको लाखौँ रकम बालुवामा पानी भएको छ ।

यसैबिच कामपाका एक कर्मचारीले नाम नखुलाउने सर्तमा फोहोरको व्यवस्थापन गर्ने नाममा बनाएका विभिन्न वृत्तचित्रको लागि लाखौं खर्च भएको बताउनुभयो । ‘ठ्याक्कै यति नै नभनौं तर वृत्तचित्रको लागि कामपाको लाखौं रुपैयाँ खर्च भएको छ, सो अनुरुप काम नभएको पनि स्वीकानै पर्छ’ उहाँले भन्नुभयो । कामपाको सहकार्यमा बनेका वृतचित्र हामी युट्यूवमा देख्न सक्छौं ।

तयारी बिनाको अभियान असफल हुँदा पनि चेतेन महानगर
विना तयारी चर्चाका लागि योजना ल्याउँदा असफल भएको महानगरपालिका अझै चेत्न सकेको छैन । केही दिन अघि विना तयारी फेरि काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न भन्दै एक सूचना जारी गरेको छ । सूचनामा कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेको भन्दै त्यस्ता फोहोर ३५ दिनभित्र नहटाए सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्न चेतावनी दिएको छ ।

उचित व्यवस्थापन विना नै धम्कीपूर्ण ढंगले महानगरपालिकाले निकालेको यस्तो सूचनाको समेत विरोध भएको छ । महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन सूचना जारी गरेको हो ।

उचित व्यवस्थापन विना नै धम्कीपूर्ण ढंगले महानगरपालिकाले निकालेको यस्तो सूचनाको समेत विरोध भएको छ । महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन सूचना जारी गरेको हो ।

के भन्छ कामपा ?
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न चुकेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने र कुहिने र नकुहिने फोहाेर संकलनको लागि छुट्टाछुट्दै दिन गाडी घर घरमा आउने बताए पनि कामपाले सो अनुरुप काम गर्न नसक्दा घरमै फोहाेरको वर्गिकरण गर्ने काम स्थानीयले रोकेका हुन् ।

यता काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई महानगरले बताए अनुसार काम गर्न नसकेको स्वीकार्नु हुन्छ । ‘भन्नु र व्यवहारमा उतार्न फरक कुरा हो, व्यवहारमा लागु गर्न कठिन पर्ने रहेछ,’ उहाँले भन्नुभयो, ‘हामीले भने अनुरुप काम गर्न खोजेका हौं तर हालसम्म सोचे अनुरुप काम गर्न सकेका छैनौं ।’

यता काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई महानगरले बताए अनुसार काम गर्न नसकेको स्वीकार्नु हुन्छ । ‘भन्नु र व्यवहारमा उतार्न फरक कुरा हो, व्यवहारमा लागु गर्न कठिन पर्ने रहेछ,’ उहाँले भन्नुभयो, ‘हामीले भने अनुरुप काम गर्न खोजेका हौं तर हालसम्म सोचे अनुरुप काम गर्न सकेका छैनौं ।’

यद्यपि केहि वडामा नीजि संस्थाले फोहाेर वर्गिकरण गरेर संकलन गरेको उहाँले बताउनुभयो । ‘आगामी दिनमा आफ्नो घरबाट निस्किने कुहिने फोहाेरबाट कम्पोष्ट मल बनाउँने र कौसी खेतीलाई प्रोत्साहन गर्ने कुरामा कामपा अघि बढ्नेछ’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाले गत असारको पहिलो हप्ता नै सूचना जारी गर्दै फोहाेर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने र फोहोर संकलनका क्रममा फोहोरको वर्गिकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने चेतावनी दिएको थियो । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ थियो तर सूचना जारी गरे पनि सो अनुरुपको काम भने हुन सकेको छैन ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहरमैला व्यवस्थपन ऐन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ ।

काठमाडौं महानगर फोहाेर व्यवस्थापन गर्न नसक्दा पटकपटक विवादमा समेत आउने गरेको छ । कामपाले गत असारमै सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।जसले गर्दा हालको अवस्थामा फोहाेर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका थिए । तर, साउनबाट फोहाेर वर्गिकरण नगरी ल्यान्डफिल्ड साइटमा लगे फोहाेर फाल्न रोक्ने चेतावनी समेत दिएका थिए । सहमति अनुसार फोहाेर वर्गिकरणको काम नभएपछि पुनः कामपा विवादमा आउने निश्चित छ ।