म्याग्दीकाे मालिकामा अझै बनेन सवस्टेशन

म्याग्दी, २६ मंसिर । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बन्न सकेकाे छैन । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो ।

सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका–६ दुखुका ओमकार रोकाले बताउनुभयो ।

पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलनचोकदेखि रातोढुङ्गा जोड्ने प्रशारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

खम्बा पर्ने जग्गाका धनी र वन समूहको अवरोधले पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रशारण लाइन निर्माण एक वर्षदेखि रोकिएको ढकालले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनीयरिङले रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन प्रशारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

सबस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सबस्टेशन वरपरका जग्गाधनीले बाटो बनाउन, घेराबार पर्खाल लगाउन र प्रशारण लाइनको तार तान्न अवरोध गरेको ठेकेदारले बताएका छन् । बर्खामा केही ठाउँमा गाडेका खम्बा बगाएको छ । म्याग्दी प्रदेशसभा (२)बाट निर्वाचित रेशमबहादुर जुग्जालीले निर्माण व्यवसायी र आयोजनाका अधिकारीलाई सम्पर्क गरी सवस्टेशन निर्माणलाई पूर्णता दिन पहल थालिएको बताउनुभयो ।

आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदूर गत जेठदेखि आयोजनास्थलमा छैनन् । हालसम्म खम्बा गाड्ने, दुई भवन बनिसकेको आयोजनाका लागि ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । खम्बा गाडिएको ठाउँमा तारसमेत तानिएको छ । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा नै छन् ।

सबस्टेशन र प्रशारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।