इलाममा एवोकाडोको उत्पादनसँगै माग पनि बढ्यो
काठमाडौं ,२६ मंसिर । इलाममा एवोकाडोको उत्पादनसँगै माग पनि बढेको छ । पछिल्लो समय स्वास्थ्यको दृष्टिकोणले पौष्टिक र प्रोटिनयुक्त मानिएको एवोकाडोको बजारमा माग पनि बढ्दै गएको स्थानीयले बताएका छन् ।
हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रुपमा बिक्रीसमेत हुन छोडेको छ । एवोकाडोको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान इश्वरी अधिकारीले बताउनुभयो । उहाँका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो । यसवर्ष सोही बोटमा करिब दुईसय पचास किलो उत्पादन भएको छ ।
बोटबाट नै प्रतिकिलो रु दुईसयमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ । विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताउनुभयो ।
उहाँले गएको वर्षभन्दा यसवर्ष उत्पादन वृद्धि भएको बताउनुभयो । साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ । पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए ।
तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो । हाल उत्पादन र मागसमेत बढेको छ । अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पुर्याउन नै नपरेको किसान कल्पना भण्डारीले बताउनुभयो । उहाँले समेत यसको व्यवसायिक उत्पादन गर्दै आउनु भएको छ । रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ ।
उहाँले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको बताउनुभयो । दर्जनौँ परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा चार/पाँच सय किलोसम्म फल्ने गरेको छ । रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरु भएको छ ।
जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ ।
यसको प्रतिकिलो रु एक पचासदेखि दुई सयसम्म कारोबार भइरहेको छ । यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ ।
