दशदिने भ्रमणका लागि भारतीय अभिनेता ओबराय नेपालमा

काठमाडौं,२९ मंसिर । दशदिने नेपाल भ्रमणको लागि बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवारसहित काठमाडौं आइपुग्नु भएको छ । नेपाली व्यवसायी पुनम यादवको पहलमा नेपाल आउनु भएको उहाँको सपरिवार पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको छ ।

विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना रहेको बताइएको छ ।
बुद्ध थन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
बुधबार बेलुका ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नु भएको ओबरायलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरियो भने नेपाली ढाकाटोपी पनि लगाइयो । विमानस्थलमा मिडियासँग उहाँले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी गर्नुभयो।
उहाँले भन्नु भयो, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’