नेपालको सबैभन्दा पुरानो मंगः हितिको मूल खोज्दै मंगलबजार पुग्दा (भिडियो रिपोर्ट)

ललितपुर, ९ पुस । ललितपुर मंगलबजारस्थित यो ऐतिहासिक ढुंगेधाराको नाम हो ‘मङ्गः हिति’ । यो केवल पानी झर्ने ढुंगाको धारो मात्र होइन, यो देशकै अमूल्य सम्पदा पनि हो ।

आजभन्दा करिब १५ सय वर्ष अघि सन् ५७० मा निर्माण गरिएको यो हिति नेपालमा अहिले प्रयोगमा आइरहेका सम्पूर्ण ढुंगेधाराहरू मध्ये दोस्रो सबैभन्दा पुरानो धारा हो । लिच्छवी राजा मानदेवका नाति भारवीले यो हिति बनाएको अभिलेखमा उल्लेख छ ।

तर अहिले यो हितिको चर्चा गर्न लागिएको भने यो ऐतिहासिक महत्वको भएर मात्र होइन । करीब छ महिना अघि यो हितिबाट अचानक फोहोर पानी झर्न थालेको रहेछ । त्यो देखेर स्थानीय मानिसहरू चिन्तित भए ।

चिन्तित हुनु स्वाभाविक पनि थियो । किनभने कुनै बेला यो हिति कतिसम्म पवित्र थियो त भन्दा यो हितिको परिसरमा छालाको जुत्ता लगाएर जान समेत प्रतिबन्ध थियो । छालाको जुत्ता लगाएर हितिमा आउनेहरुलाई रोक्नका लागि यहाँ सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको थियो ।

मंग हितिको पछिल्लो अवस्थाबारे बुझ्न मैत्रीन्युजको टीम मंगलबजार आसपास पुग्दा त्यहाँ ढल व्यवस्थापनका लागि उधिनेको कुरुप दृष्य प्रष्ट देखिज्यो भने जनिकै डोजर पनि तयारी अवस्थामा थियो । हामी मंगलबजार पुग्दा हितिविज्ञ पद्मसुन्दर जोशी मंगः हिति छेवैको फल्चामुनि खनिएको करिब ३ मिटर गहिरो खाल्डोको निरीक्षणमा व्यस्त हुनुहुनथ्यो । ‘करीब आठ महिना अघि अचानक ढलकै जस्तो फोहोर पानी मंगः हितिमा झर्न थालेपछि स्थानीयहरु समेत चकित भए,’ हामीसँग भेट हुने वित्तिकै जोशीले निरीक्षण गर्दै गरेको खाल्टोतिर चोरीऔँला देखाउँदै भन्नुभयो, ‘पछि उक्त ढुंगे धाराबाट फोहोर पानी रोकियो तर धारामा फोहोर कसरी पस्यो त भनेर बुझ्न अहिले यसको मूल खोज्ने काम भइरहेको छ । म अहिले यहि काममा खटिरहेको छु ।’

उहाँले केही समय हामीलाई मंगः हितिको अवलोकन गराउनुभयो । ‘यो खाल्डोमा मंगः हितितिर बगिरहेको पानीको धार त भेटियो तर मूल भने भेटिएको थिएन, अवलोकनकै सिलसिलामा उहाँले भन्नुभयो । उहाँले उक्त खाल्डोमा पानी बगाउन बनाइएको डुँड कति जब्बर रहेछ भन्ने गज्जबको अनुभव पनि सुनाउनुभयो । ‘मंगः हिति करिब १५०० वर्ष पुरानो ढुंगेधारा हो,’ करीब १५ मिनेट जतिको अवलोकनमा उहाँले हामीलाई भन्नुभयो, ‘यो हितिलाई नेपालमा अहिले विद्यमान सम्पूर्ण ढुंगेधाराहरू मध्ये सबैभन्दा पुरानोमा दोश्रो मानिन्छ ।’

‘यो खाल्डोमा मंगः हितितिर बगिरहेको पानीको धार त भेटियो तर मूल भने भेटिएको थिएन, अवलोकनकै सिलसिलामा उहाँले भन्नुभयो । उहाँले उक्त खाल्डोमा पानी बगाउन बनाइएको डुँड कति जब्बर रहेछ भन्ने गज्जबको अनुभव पनि सुनाउनुभयो

यस्तो पुरानो हितिमा पानीको सट्टा ढल बग्न थालेपछि जोशी जस्ता विज्ञको ‘निँद हराम’ भएको रहेछ । हो, त्यहि हितीबाट फोहोर पानी बग्न थालेपछि त्यसको कारण पत्ता लगाउन जोशी खटिनुभएको रहेछ । यस क्रममा हितिको मूल खोज्नका लागि हिति सँगैको सोह्रखुट्टे पाटी छेउमा तीन मिटर गहिरो खाल्डो खनिएको थियो ।
१५०० वर्ष पुरानो प्राचीनकालीन हिति भए पनि यसको प्रणाली भने अत्यन्त वैज्ञानिक ढंगले बनाइएको देखिन्छ ।

हितिको मूल खोज्ने कार्य जारी रहे पनि अहिलेसम्म भेटाउन भने सकिएको छैन । विज्ञ जोशीका अनुसार यसको मूल हितिको सामुन्ने रहेको ऐतिहासिक कृष्ण मन्दिरको छेवैतिरबाट गएको हुनुपर्छ । तर त्यहाँसम्मै खनेर मूल खोज्न भने सम्भव छैन ।

अहिले मङ्गः हितिबाट फोहोर पानी झर्न त बन्द भइसकेको छ । तर पनि यो हितिमा कहाँ कहाँबाट पानी ल्याइएको छ भनेर मूल पत्ता लगाउन सके भविष्यमा यस्तो फोहोर पानी झर्नबाट रोक्न सकिने भनाइ जोशीको छ ।

काठमाडौं उपत्यका मुलुकको राजधानी मात्रै होइन, यो कला, संस्कृति र संम्पदाको भण्डार पनि हो । कला, संस्कृति र संम्पदा हाम्रा अमूल्य निधि पनि हुन् । यी कला, संस्कृति र संम्पदाको संरक्षण र सर्वद्धन गर्नु हामी सबैको दायित्व हो । मंगहिटी मात्रै होइन अहिले उपत्यकाका धेरै धाराहरु लोप हुने अवस्थामा पुगेका छन् । कतिपय हिती संरक्षणको अवभावमा लोप भएका छन् भने कतिपय हितीहरु अतिक्रमणका कारण पनि लोप भएका छन् । जोशीको हिती संरक्षण अभियान सकारात्मक छ । उहाँ जस्तै विज्ञहरुले पनि यस्ता विषयमा चासो दिएर संरक्षण र सम्वद्र्धनमा लाग्ने हो भने हाम्रो उपत्यकाको पहिचानलाई अझै विश्वसामू चिनाउन थप सहयोग पुग्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *