नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्स लगातार तेस्रो खेलमा विजयी
काठमाडाैं, १२ पुस । नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले हराउँदै तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा दक्षिण अफ्रिकन क्रिकेटर स्याड्ली भान स्कालवेकले अन्तिम बलमा छक्का हिर्काएपछि लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो।
पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो ।
लुम्बिनीका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान गरे । तल्लो क्रमका ब्याटर स्कल्कवेकले ११ बलमा ४ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे ।
ओपनर उन्मुक्त चन्दले ३४ बलमा १ चौकाहित २२ रनमा आउट हुँदा गुलनि झा १० रन र अनिल शाहले १९ रन योगदान गरे ।
पोखराको बलिङमा विपिन कार्की र कुशल मल्लले दुई/दुई विकेट लिए । प्रतिस जिसी, अभिमन्यू मिथुन र जाहिर खानले समान १ विकेट लिए । १० ओभरको समाप्तिमा २७/२ को स्थितीमा रहेको पोखराको इनिङ कुशलले सानदार ब्याटिङ गर्दै उकासेका थिए ।
कुशलले उपुल थरंगासँग ९६रनको साझेदारी गरेका थिए । थरंगा ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पभेलियन फर्किएका थिए ।
लुम्बिनीको बलिङमा शेड्ले भान स्कल्कवेकले सर्वाधिक तीन विकेट लिए । किशोर महत्तोले चार ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर दुई विकेट लिए । हर्मीत सिंह, सागर ढकाल र गुलसन झाले समान १ विकेट लिए ।
पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुरसँग ५ विकेटले हारेको थियो ।