खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोध गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

काठमाडौं, १८ पुस । काठमाडाैंकाे खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोध गर्दै स्थानीयबासी र संरक्षण अभियान्ताहरुले काठमाडाैं महानगरपालिका मेयर बालन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीयले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

काठमाडौं महानगरपालिकाले नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिंदै टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढाएको छ तर महानगरपालिकाले योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।