रोनाल्डो किन साउदी क्लबमा अनुबन्ध भए ? खुलाए यस्ताे कारण

काठमाडौं, २० पुस । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो अल–नस्र क्लबसँग अनुबन्ध भएर मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका छन् ।

साउदी अरबको रियाद पुगेर गरिएकाे पत्रकार सम्मेलनमा आफु उक्त क्लबमा आबद्ध हुन पाउँदा सन्तुष्ट रहेको बताएका छन् ।

क्रिस्टियानो रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डमा सन् २०२५ सम्म आबद्ध रहने सम्झौता गरेका थिए ।

उनले पत्रकार सम्मेलनमा भनेका छन् ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’

साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए ।