काठमाडौंको भिमसेन मन्दिरमा पनि महानगरको हस्तक्षेप, बन्द गराए पसल कवल
काठमाडौं, २० पुस । काठमाडौ महानगरपालिका वडा नं. २० स्थित प्रशिद्ध भिमसेन मन्दिर अहिले एउटा अनौठो विवादमा फसेको छ । चार तला रहेको यो ऐतिहासिक मन्दिरको भुइँ तलामा केही पसल कवलहरू रहेका छन् । ती पसल कवलबाट आउने भाडा कसरी भागबन्डा गर्ने भन्ने विषयमा विवाद सिर्जना हुँदा महानगरपालिकाले त्यहाँ प्रत्यक्ष हस्तक्षेप गर्न पुगेको छ ।
भिमसेन मन्दिरमा रहेको उक्त पसल कवलबाट आउने भाडा स्थानीय जयराम मल्ल, श्यामकृष्ण मल्ल र प्रचण्ड मल्ल नामका तीन जना ‘थकू जुजु’ हरूले चलाउँदै आइरहेका थिए । थकू जुजु भनेका यो ठाउँको मल्लकालीन स्थानीय प्रशासक हुन् । अहिले यिनीहरूको कुनै प्रशासनिक अस्तित्व नरहे पनि सांस्कृतिक, धार्मिक रूपमा भने उनीहरूको अझै पनि मान्यता रहेको पाइन्छ ।
स्मरणीय छ, यही भिमसेन मन्दिरका कारण उक्त टोलको नाम नै ‘भिमसेनस्थान टोल’ रहन गएको हो । मल्लकालमा यो ठाउँलाई भन्सार कार्यालयको रूपमा पनि प्रयोग गरिन्थ्यो । यहाँ भन्सार बुझाई छुटाइएको सामान सहित व्यापारीहरू अलि पर रहेको काष्ठमण्डपमा आराम गर्न पुग्दथे ।
यी तीन जना पूर्व थकू जुजुहरूले बाँडेर लिइरहेको यो भाडामा त्यतिबेला समस्या उत्पन्न भयो जब यसमा अर्का एकजना नातेदारको पनि दावी पर्न आयो । ती नातेदार हुन् शिवसुन्दर कर्माचार्य । उनी मल्ल त्रयका भान्जा हुन् । कर्माचार्यले आफ्ना मामाहरूले बाँडीचुडी लिइरहेको पसल भाडामा आफ्नो पनि भाग खोजेपछि विवाद शुरु भएको स्थानीय बताउँछन् ।
मामाहरूले आफूलाई भाडाको भाग दिन नमानेपछि कर्माचार्यले विभिन्न निकायहरूमा त्यस विरुद्ध उजुरी हाल्न थाले । उनको एउटा उजुरी काठमाडौं महानगरपालिकामा पनि पर्न गयो । तर आपूmकहाँ आएको उजुरीको आधारमा महानगरपालिकाले पसल भाडा सम्बन्धी विवाद सल्टाउनुको साटो त्यहाँ पसल भाडामै राख्न नदिने भन्ने नीति लिए । यसले गर्दा त्यहाँ यथावत रहेको विवादमाथि अर्को एउटा विवाद थपिन पुग्यो ।
स्थानीय टोलवासीका अनुसार यदि त्यहाँ पसल भाडामा नदिने हो भने सो खाली ठाउँलाई कुन काममा प्रयोग गर्ने भन्ने समस्या आएको छ । आजभन्दा ६०–७० वर्ष अघि त्यसलाई पाटी पौवाको रुपमा प्रयोग गरिएको थियो । त्यसैले अहिले पनि पाटी नै रहन दिनुपर्छ भन्ने एकथरिको विचार छ भने खुल्ला पाटी राखिरहे त्यहाँ अवांछित क्रियाकलापहरू हुन सक्ने खतरा अर्काथरिले औंल्याएका छन् ।
पसलको भाडा उठाइरहेका पूर्व थकू जुजुहरू अहिले पनि पचली भैरव जात्रा लगायत भिमसेनसँग सम्बन्धित विभिन्न धार्मिक क्रियाकलापहरू गरी करिब २० वटा जति गुठी र धार्मिक कार्यहरूमा संलग्न छन् । ती धार्मिक सांस्कृतिक कार्यका लागि आवश्यक हुने केही खर्च उनीहरूले यही पसल भाडाबाट प्रयोग गरिरहेका थिए ।
उजुरीकर्ता कर्माचार्यले भिमसेन मन्दिर मात्र होइन मन्दिरको पछाडि निर्माण गरिएको देय् भ्वय्छेँ नामक अर्को एउटा सामुदायिक भवन पनि अवैध रुपमा कब्जा गरिएको भनी उजुरी हालेका थिए । सो अनुरुप नगर प्रहरीले देय् भ्वय्छेँ सामुदायिक भवन समेत खाली गराउन खोजेका थिए । देय् भ्वय्छेँ सञ्चालकहरूले यो ठाउँ मन्दिरसँग सम्बन्धित होइन भनी प्रमाण देखाउँदा समेत नगर प्रहरीले ‘हामीलाई प्रमाणको मतलब छैन, माथिबाट आदेश आएपछि नगरी छोड्दैनौँ’ भनी जवाफ दिएका थिए ।
त्यसपछि देय् भ्वय्छेँ सञ्चालकहरूले मेयर बालेन साहलाई भेट्न खोज्दा साहले पनि आफूहरुलाई भेट्न नमानेको उनीहरुको आरोप छ । अहिले नगर प्रहरीले भिमसेन मन्दिरको सबै पसल कवल बन्द गराएका छन् भने देय् भ्वय्छेँ सम्बन्धी कागजातको पनि अनुसन्धान गर्ने भनिएको छ ।
दशकौंदेखि छुट्टै निकायको रुपमा सञ्चालित देय् भ्वय्छेँलाई समेत मुछेर उजुरी दर्ता गराएकोमा स्थानीयवासीहरू आक्रोशित भएका छन् ।
स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन अनुसार सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने जिम्मा स्थानीय तहको हुने भनी मनपाले मन्दिरको पसल कवल बन्द गराएका हुन् । उक्त मन्दिर कुनै पनि गुठी अन्तर्गत दर्ता रहेको छैन ।