पर्सा र जाजरकोटमा लागूऔषधसहित दुइजना पक्राउ
पर्सा, २० पुस । पर्सा र जाजरकोटबाट लागूऔषधसहित प्रहरीले दुइजनालाई पक्राउ गरेका छन् ।
प्रहरीले वीरगंज महानगरपालिका-१६ बसपार्कबाट लागूऔषध नुफिन ९२ एम्पुल, डाइजेपाम इन्जेक्सन ९२ एम्पुल, हाइड्रोक्लोराइड ईन्जेक्सन ९२ थान सहित लम्जुङ सुन्दर बजार नगरपालिका-८ कुसुण्डे बस्ने २२ वर्षीय अनिल सापकोटालाई पक्राउ गरेको छ ।
त्यस्तै जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने २१ वर्षीय मदन शाहीलाई लागूऔषध नाइट्राभेट ६६ ट्याबलेट, ट्रामाडोल ३५ ट्याबलेट र क्यारिसपास ३० ट्याबलेट सहित प्रहरीले पक्राउ गरेको छ ।
शाहीलाई गैरीखाली बजारमा हिँडी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा दुबैलाई अनुसन्धान गरिरहेको जनाएकाे छ ।