एक महिने माधव नारायण पूजा तथा स्वस्थानी व्रत आजदेखि सुरू
काठमाडौं, २२ पुस । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने माधव नारायण पूजा तथा शालीनदी मेला आजदेखि सुरू भएकाे छ ।
एक महिनासम्म विधिपूर्वक गरिने माधव नारायण पूजा तथा स्वस्थानी व्रत आजदेखि सुरू भएकाे हाे । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुका हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने/सुनाउने परम्परा छ । स्वस्थानी परमेश्वरीको कथा भन्ने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले पुस २२ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभयो ।
समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जनाएकाे छ ।