लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा ५८ सांसदको समर्थनसहित दाबी पेस, आजै मुख्यमन्त्री नियुक्त हुँदै

बुटवल, २७ पुस । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा बहुमतको सरकारका लागि दाबी पेश भएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिएको हो एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकालले दिएको जानकारी अनुसार एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, स्वतन्त्र २, जनमत पार्टीका ३, लोसपाका ३ गरी ५८ सांसदको समर्थनमा आजै दाबी पेश गरेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जसपन ३, लोसपा ३, एकिकृत समाजवादी पार्टी १, जनमोर्चा १ र अन्य (स्वतन्त्र) २ जना रहेका छन् ।

एमालेका संसदीय दलका नेता लिला गिरी अब आजै मुख्यमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सालिन, इमानदार र अनुभवी नेताको छवि बनाउनु भएका एमालेका पोलिटब्यूरो सदस्य गिरीलाई ०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा समर्पित नेता हुनुहुन्छ । उहाँ रुपन्देही क्षेत्र नं. २ (१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । एमालेले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो ।