जंगली हात्ती गोविन्देलाई दिइयाे मात नियन्त्रण गर्ने औषधी

चितवन, २८ पुस । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जंगली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधी दिइएका छन् ।

मंसिरमा उक्त हात्तीले मेघौलीमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधी दिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधी प्रयोग गरेको हो ।

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधी दिएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।” अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो ।