बौद्ध धर्मालम्बीहरूले मनाए भक्तपुरमा सम्यक महादान पर्व

भक्तपुर, १ माघ । माघे संक्रान्तीको दिन भक्तपुरमा बौद्ध धर्मालम्बीले आज सम्यक महादान पर्व मनाएका छन् ।

लिच्छवीकालीन समयमा सुरूभएकाे सम्यक महादान पर्व बौद्ध धर्मावलम्बीले घ्यः चाकु सँल्हु अर्थात् माघे संक्रान्तिका दिन मनाउँछन् ।

विभिन्न स्वरुपका बुद्ध र विहारका गुरुपुरोहितलाई आआफ्नो मनोकांक्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले सम्यक महादान गरेका छन् ।

भक्तपुरमा सम्यक दानका लागि बिहान सबेरै क्वाठण्डौं प्रसन्नशील महाविहार, साकोथा चतुब्रह्म महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें जयकृति महाविहार (थथुवही) र भार्वाचो बौद्ध समकृत विहारका दीपंकर गरी पाँच दीपंकर बुद्ध एवं प्रसन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताका कूल देवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकर) तथा प्रसन्नशील महाविहारका स्थवीर आजु, गुणकृति महाविहार (थिमि)का उपाध्याय गुरुजु एवं मूल पुरोहित गुरुजुलाई इटाछेँस्थित जयकृति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्रमा जम्मा गरिन्छ ।

सम्यक भोजन दान पर्व नेसं ७८७ मा भक्तपुर चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दान आयोजना गरिएको भक्तपुर इटाछेँस्थित थथुवही (जयकृति महाविहार) जीर्ण भएकाले जयरत्नले जीर्णोद्वार गरेको इतिहासमा उल्लेख छ । जयरत्नले सम्यक दानपर्व नियमित रुपमा प्रत्येक वर्ष आयोजना गर्न करिब ३६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरेका थिए । जयरत्नपछि उहाँका छोरा जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरेका थिए ।

नेसं १०४४ मा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा प्रमुख पाँच दीपंकर, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साँगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतसमेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको छ ।

सम्यक दानमा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाइ दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाइएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षु बज्राचार्य र शाक्य वर्गलाई धान, चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न र दक्षिणा दान गरी मनाउँदै आएका छन् ।

सम्यक दान पर्व बुद्धको पालादेखि चल्दै आएको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणका रुपमा लिच्छवि धार्मिक राजा वृषदेवको पालामा शुरु भएकाे हो काठमाडौँ उपत्यकामा नियमित र ऐच्छिकरुपमा चल्दै आएको छ ।

प्रत्येक १२ वर्षमा एक पटक काठमाण्डौं, स्वयम्भूको भुइँख्यल र पाँच वर्षमा एक पटक ललितपुर, नागबहालमा सम्यक दान पर्व मनाइन्छ । भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन नियमित रुपमा यो पर्व चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *