एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय लियोः सुवास नेम्वाङ

काठमाडौं, ४ माघ । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णयसँगै दर्ता प्रक्रियामा अघि बढेको जानकारी दिनुभयो ।

‘दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय छ,’ नेम्वाङले भन्नुभयो, ‘हामी समय भित्रै उम्मेदवारी दर्ता गराउँछौँ ।’ सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । गठबन्धनका तर्फबाट एमालेलाई सभामुख दिने निर्णय भैसकेको छ ।

माओवादीसँग आधाआधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार अब घिमिरे सभामुख बन्ने निश्चित जस्तै छ । उहाँ निर्वाचित भएपछि सहमति अनुसार अढाई वर्षसम्म सभामुख रहनु हुनेछ । एमाले प्रदेश १ इन्चार्जसमेत रहनु भएका घिमिरे झापा २ बाट निर्वाचित हुनुहुन्छ ।