रुपा गाउँपालिकाले पाइलट केसीको शालिकसहित उद्यान निर्माण गर्ने

कास्की, ४ माघ । पोखरा माघ १ गते भएकाे यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।

कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो ।

स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुनुहुन्थ्यो । गाउँपालिकाले उहाँलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुनुहुन्थ्यो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।

केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आउनुभएको थियो । उहाँले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गर्नुभएको हो । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध हुनुहुन्थ्यो । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गर्नुभएको थियो ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियाे ।