सुमेरु सिटी अस्पतालमा उपचाररत वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै

काठमाडाैं, ४ माघ । ललितपुरकाे सुमेरु सिटी अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजोकाे ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

डा. शर्माका अनुसार पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।

अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिए ।

पुन यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए । डा. शर्माका अनुसार पुनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको थियाे ।