सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं, ४ माघ । प्रतिनिधिसभाको सभामुखका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनय दर्ता गराउनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुहुन्छ।

उहाँ प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

आज अपराह्न १ देखि ४ बजेसम्म प्रतिनिधिसभाका सभामुखकाे उम्मेदवारी दर्ता गरिने कार्यतालिका छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ ।