विमान दुर्घटनाबारे अध्ययन गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

कास्की, ४ माघ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न आएका फ्रान्सका विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने र दुर्घटनाको कारण पत्ता लगाउने छ ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाँजको ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न नसकिने आयोगका विज्ञहरूले जनाएका छन् ।

आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।