प्रदेश मन्त्रालय घटाएर खर्च कटौती गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाएर खर्च कटौती गर्ने बताउनुभएकाे छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वमा प्रदेश मन्त्रीहरूसँग कुरा गर्दै उहाँले खर्चभार कतौती गर्न प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताउनुभएकाे हाे ।

‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौं पनि,’ बालुवाटारमा भएको छलफलमा उहाँले भन्नुभयाे, ‘तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौं।यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’

प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका सबै नेताहरू सहमत हुनुभएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने तयारी भएको उहाँको भनाइ छ ।