आइएफआरसीका महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण‍मा आउँदै

काठमाडाैं, २० माघ । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन‍ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (‍आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले नेपाल भ्रमण‍ गर्ने भएका छन्।

चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक ‍चारदिने नेपाल भ्रमण गर्न लागेका हुन्। उनले शनिबारदेखि गर्ने भ्रमणका क्रममा आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिने बताइएको छ ।

उनले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । साथै, भ्रमणका क्रममा उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्।

आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी सङ्गठन आइएफआरसीले सन् २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो। साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रममा उहाँ सहभागी हुने जनाइएको छ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सो जिम्मेवारी सम्हालेपछि उनले विसं २०७८ माघ १८ मा पहिलो नेपाल भ्रमण गरेका थिए।

विश्वका १९२ देश आइएफआरसीका सदस्य छन्। आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उनलाई सो पदमा निर्वाचित गरेको थियो। बोर्डमा विश्वका शक्तिशाली २९ देश छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *