सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने

धनगढी, २३ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले यही माघ २५ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले २५ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन्।

प्रदेशसभा श्रोतका अनुसार सुदूरपश्चिम प्रदेशका सभामुखले माघ २५ गते विहान ११ बजे प्रदेशसभा बैठक बाेलाउने भएका छन्। साेही दिन विश्वासकाे मत लिने तयारी रावलकाे छ।

मुख्य मन्त्री रावलले शपथ ग्रहण गरेको मितिदेखि ढिलो गरी विश्वासको मत लिन लागेका हुन्। यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित निर्णायक रहेकाे नागरिक उन्मुक्ति विश्वासकाे मत दिन तयार नरहेपछि प्रदेशसभा बैठक नै अनिश्चित भएकाे थियाे।

रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका थिए ।

रावलले मुख्यमन्त्रीकाे दाबी प्रस्तुत गर्दा एमालेसहित, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेकाे थियाे। त्यसमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका थिए।

आफ्नाे माग पूरा नभएकाले विश्वासकाे मत नदिने भन्दै नागरिक उन्मुक्ति पछि हटेपछि मुख्यमन्त्रीले विश्वासकाे मत लिन सकेका थिएनन्। तर आइतबार रेशम चाैधरीकाे मुद्दाकाे सुनुवाइका क्रममा सर्वाेच्च अदालतकाे सकारात्मक निर्णय आएकाले नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धन प्रति सकारात्मक देखिएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *