विपक्षी दलको नेता आफूलाई चयन गर्न माग गर्दै सभामुखलाई गोसाईको निवेदन
काठमाडौं, २५ माघ । नेपाल मजदुर किसान पार्टीको वागमती प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले विपक्षी दलको नेता आफ्नो दलले पाउनु पर्ने माग गर्दै वागमती प्रदेश सभाका सभापति समक्ष निवेदन दिनुभएको छ ।
उहाँले निवेदनमा नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिदाँ उहाँको पक्षमा मतदान गरेको स्मरण गराउँदै त्यतिबेला नेपाल मजदुर किसान पार्टीले मात्रै विपक्षमा मतदान गरेका कारण विपक्षी दलको नेताको मान्यता आफ्नो पार्टीले पाउनु पर्ने दाबी गर्नुभएको छ ।
‘वागमती प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड झ (१) बमोजिम वागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानूनी व्यवस्था रहको छ,’ उहाँले दिएको निवेदनमा भनिएको छ, ‘यस वागमती प्रदेश सभामा निर्वाचित नेपाल मजदुर किसान पार्टीबाहेक अरु सबै दलहरु मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरु भएकाले ती दल बाहेकका प्रदेश सभामा एक मात्र दल नेपाल मजदुर किसान पार्टीलाई विपक्षी दल र पार्टीको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य तथा नेमकिपा संसदीय दलका नेता माननीय सुरेन्द्रराज गोसाईलाई विपक्षी दलको नेता घोषित गरी पाउन यो निवेदन पेश गरेका छु ।’
वागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी बाहेक सबै राजनीतिक दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका कारण उहाँको यो दाबीलाई स्वाभाविक मान्न सकिन्छ ।
