पात्लेखर्कमा खेलमैदान निर्माण

म्याग्दी, २७ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० मा रघुगङ्गाले विनियोजन गरेको १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिनुभयो । “पहिले कच्ची खेलमैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ”, पुनले भन्नुभयो ।

खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताउनुभयो । “बालबालिकादेखि युवामा रहेको खेलप्रतिभाको विकास गराउन सहज भएका छ”, उहाँले भन्नुभयो ।

तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ । खेलमैदानमा घेरबारसमेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ ।